दफा १७
कर्मचारी सम्बन्धी व्यवस्था

१७.१ नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्नेछ । निजको पदावधि बढीमा पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको पदावधि पुन बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ ।
१७.२ उपदफा १७.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा विकास आयुक्तलाई निजको पदावधि पूरा नहुँदै सो पदबाट अवकाश दिन सक्नेछ ।
१७.३ प्राधिकरणले आवश्यकतानुसार अन्य कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
१७.४ विकास आयुक्त र प्राधिकरणका अन्य कर्मचारीहरूको पारिश्रमिक सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।
१७.५ विकास आयुक्तले आफूलाई प्राप्त अधिकार आफ्नो रेखदेख र जिम्मेवारीमा आफू भन्दा मुनिको कुनै कर्मचारीलाई सुम्पन सक्नेछ ।